शनिबार २४ मंसिर २०७९

रुसले युक्रेनलाई पूर्णरुपमा कब्जा गर्ने उद्देश्यले उत्तर कोरियाबाट लाखौं रकेट र अन्य हातहतियार खरिद गरिरहेको अमेरिकी गुप्तचर निकायको एक अध्ययनले देखाएको छ ।

एक जना अमेरिकी अधिकारीले सोमबार नाम उल्लेख नगर्ने सर्तमा अन्तर्राष्ट्रिय मिडियालाई बताएअनुसार रुसी रक्षा–मन्त्रीले प्योङयाङसँग हतियार खरिदबारे प्रयास गरेको बताए ।

पश्चिमले रुसमा लगाएका कठोर प्रतिबन्धको कारण रुसले अहिले आपूर्तिको अभावको सामना गर्नु परेकाले हतियार निर्माणमा पनि असर परेको विज्ञ बताउँछन् ।

अमेरिकी गुप्तचर अधिकारीहरुले रुसले भविष्यका लागि पनि उत्तर कोरियाबाट अतिरिक्त सैन्य उपकरण सुनिश्चित गर्ने प्रयास गरेको विश्वास गरेका छन् ।

बाइडेन प्रशासनले यसअघि नै रुसले अगस्टको प्रारम्भमा इरानबाट पनि ड्रोन लिएको बताएको थियो । इरानी ड्रोनहरु युक्रेन युद्धकै लागि लिइएको आशंका छ ।

तर इरानबाट खरिद गरिएका मोहाजेर–६ र शाहेद श्रृङ्खलाका ड्रोन संचालनमा रुसले समस्या बेहोरिरहेको पनि ह्वाइट हाउसले बताएको छ ।

सोमबार युक्रेन हवाई फौजका प्रवक्ता युरिए इग्नतले इरानमा निर्मित ड्रोनले आफूहरुले प्रयोग गर्ने टर्किस ड्रोनका तुलनामा तीन गुणा बढी हतियार बोक्न सक्ने बताएका थिए ।

तथापि ती ड्रोन पनि अन्य रुसी वायुयानजस्तै आफ्नो निशानामा पर्ने उनले बताए । संयुक्त राष्ट्र संघको प्रतिबन्ध अनुसार कुनै मुलुकले उत्तर कोरियालाई हतियार किन्न र बेच्न पाउँदैन ।

उत्तर कोरियाले पछिल्लो समय रुससँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेको छ । युक्रेनमा रुसले आक्रमण गरेपछि उत्तर कोरियाले प्रतिक्रिया दिने क्रममा ‘द्वन्द्वको प्रमुख कारक’ अमेरिका भएको आरोप लगाएको थियो ।

‘पश्चिमको हेपाहा नीतिका कारण रुसले आत्मरक्षाका लागि युक्रेनमाथि आक्रमण गर्नु जायज ठहरिन्छ,’ उत्तर कोरियाले बताएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनबीच हालै पत्र आदानप्रदान गर्दै दुई मुलुकबीच ‘रणनीतिक’ तथा ‘वृहत्तर’ सहकार्यको लागि प्रयास गर्ने बताएका छन् ।


Last Updated on: September 6th, 2022 at 7:13 pm
८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया