आइतबार , मंग्सिर १२, २०७८

रुकुममा उतार्न पर्ने प्लेन डिउटी सक्यो भन्दै पाइलटले नेपालगन्जमा उतारेपछि यस्तो भयो

नेपाल एयरलाइन्सको ट्विन अटर विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुकुमको चौरजहारी उडान भर्ने अनुमति पाइसकेको थियो ।दिउँसो ३ बजे उड्नुपूर्व यात्रु विमानमा बसिसकेका थिए । प्लेनले निर्धारित समयमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्यो । अनि आकाशमा एक फन्का मारेर गन्तव्य सोझ्यायो ।

यात्रुलाई लागेको थियो– प्लेन केही समयमा नै चौरजहारी विमानस्थलमा अवतरण होला र आफन्त भेटिएलान् । तर त्यसो भएन । बीच बाटोमै नेपालगञ्ज विमानस्थलमा प्लेन अवतरण भयो ।

धेरैलाई लाग्न सक्छ– जहाजमा कुनै प्राविधिक समस्या आएकाले पाइलटले नेपालगञ्जमा आकस्मिक अवतरण गरे होलान् । तर प्राविधिक समस्याले नभई पाइलटको सनकका कारण यस्तो अनौठो घटना भएको हो । कारण रोचक छ– पाइलटको ड्युटी सकिनु ।

पाइलट पेम्बा शेर्पाको ड्युटी सोमबार बिहान ५ः३० मा सुरु भएको थियो । उनको नियमित ड्युटी ४ बजेसम्म हो । उक्त समयमा नेपालगञ्जको आकाशमाथि पुगेको थियो । त्यसैबेला उनले ड्युटी सकिएको भन्दै जहाज त्यहीँको विमानस्थलमा ल्यान्ड गराए ।

‘कति छिट्टै चौरजहारी आइपुगिएछ भन्ने ठानेको त ड्युटी सकियो भनेर नेपालगञ्जमा झारिएको रहेछ,’ एक यात्रुले गुनासो गरे, ‘यो गैरजिम्मेवारीको पराकाष्ठा हो । यसैगरी, बिरामीको अपरेसन गरेका चिकित्सकले काम छाडे के होला ?’

शेर्पा यती समूहबाट चार वर्षअघि नेपाल एयरलाइन्समा अनुबन्ध भएका पाइलट हुन् । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्ना पाइलटले ड्युटी सकिएको भन्दै चौरजहारी जानुपर्ने जहाज नेपालगञ्जमा सोमबार अवतरण गरेको स्वीकारे । उनी भन्छन्, ‘चौरजहारी जानुपर्ने विमान ड्युटी सकिएको भन्दै पाइलटले नेपालगञ्ज अवतरण गरेको साँचो हो । यसबारे बुझ्दै छु ।’

पाइलटले यात्रुलाई गन्तव्यमा नपु-याएपछि उनीहरूलाई नेपालगञ्जकै होटलमा बस्ने व्यवस्था गरिएको अध्यक्ष अधिकारीले नेपालवाचलाई बताए । निगम स्रोतका अुनसार, पाइलटका सनकका कारण अलपत्र यात्रुलाई मंगलबार बिहान नेपालगञ्जबाट रुकुम पु-याइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय