शनिबार २४ मंसिर २०७९

एकै परिवारका तीन जनाको विभत्स हत्या गरेको आरोपमा पक्राउ गरेका वेलका नगरपालिका ७ गोवाटारका एक युवकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलन गर्दै ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो । नरबहादुरले भदौ १७ गते शुक्रबार नाताले भाइ पर्ने ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतलाई हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।

नरबहादुरले खेतमा धान गोडेर फर्कंदै गरेका राजकुमार, सरिता र सुजनलाई गोवाटार नजिकैको बबिङ खोलामा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक फुयालले बताए ।

‘राजकुमारसहित श्रीमती र छोरालाई हत्या गरी फरार नरबहादुरलाई त्यसैले दिन प्रहरीले पक्राउ गरेको हो,’ प्रहरी उपरीक्षक फुयालले भने, ‘नरबहादुरले राजकुमारसहित उनकी श्रीमती र छोरालाई एकान्त स्थानमा पर्ने बबिङ खोलानजिक खुकुरी प्रहार गरी हत्या गरेको हो ।’

घटना बिहान साढे ११ बजे भएको भए पनि एकान्त ठाउँमा भएका कारण प्रहरीले दिउँसो ३ बजे मात्रा घटनाबारे जानकारी पाएको प्रहरी उपरीक्षक फुयालले बताए । पक्राउ गरिएका नरबहादुरलाई आइतबार जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद लिई मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

राजकुमारसँगको सामान्य घरायसी विवादका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।


Last Updated on: September 4th, 2022 at 10:08 pm
६२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया