शनिबार २४ मंसिर २०७९

व्यक्तिगत कामको सिलसिलामा ठमेलस्थित छायाँ सेन्टर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा त्यहाँ कार्यरत एकजना सुरक्षा गार्ड पक्राउ परेका छन् । घटना शुक्रबारको हो ।

मन्त्री श्रेष्ठ शुक्रबार व्यक्तिगत कामका लागि ठमेलको छायाँ सेन्टर पुगेका थिए । भिसाका लागि बायोमेट्रिक विवरण दिन पुगेका मन्त्री श्रेष्ठभन्दा अगाडि अरु थुप्रै सेवाग्राही थिए । त्यसपछि भिसा सेन्टरमा कार्यरत गरुड सेक्युरिटी कम्पनीसँग आबद्ध सुरक्षा गार्ड शेरजंग गुरुङले मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गरे ।

तर, मन्त्रीको साथमै रहेका अंगरक्षकले ‘उहाँ मन्त्रीज्यु हुनुहुन्छ, जान दिनुस्’ भनेर जवाफ दिएपछि सुरक्षा गार्डले अगाडि थुप्रै लाइनमा रहेको बताए । उनले पुनः मन्त्री श्रेष्ठलाई लाइनमा बसेर आउन आग्रह गरेपछि श्रेष्ठ झोक्किएका थिए । त्यसपछि सुरक्षा गार्ड र मन्त्रीबीच भनाभन नै भएको थियो । पछि ठेलमठेलबीच मन्त्री श्रेष्ठ काम सकेर मन्त्रालय फर्किए ।

मन्त्री श्रेष्ठ फर्किएपछि पर्यटन मन्त्रालयले छाया सेन्टरस्थित व्यक्तिगत काममा गएका बखत मन्त्रीमाथी सुरक्षा गार्डबाट दुर्व्यवहार भएको भन्दै कारबाहीका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो । शुक्रबार नै गृहले पर्यटनको पत्र प्रहरी प्रधान कार्यालय पठाइदियो । प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट काठमाडौं प्रहरी परिसर हुँदै दरबारमार्ग वृत्तमा पत्र पुग्यो । त्यसकै आधारमा पक्राउ परेका सुरक्षा गार्ड कुँवरलाई वृत्तले अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको हो । गुरुङ अहिले दरबारमार्ग प्रहरीको हिरासतमा छन् ।

काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले कुँवर प्रहरी नियन्त्रणमा रहेको र उनीमाथि कानुन अनुसार कारबाही हुने बताए । ‘मन्त्रीज्युलाई सुरक्षा गार्डबाट दुर्व्यवहार भएको उजुरीपछि सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखएको छ,’ एसएसपी बोहराले भने, ‘यस सम्बन्धमा दरबारमार्ग प्रहरीले अनुसन्धान गरिरहेको छ, कसुर देखिए कानुनअनुसार कारबाही अघि बढ्छ ।’ ekantipur.com बाट साभार


Last Updated on: September 4th, 2022 at 5:52 pm
१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया