शनिबार , अषोज ९, २०७८

तीजकै कारण यी दूई दिदीबहिनीको मृत्यु, मृत्यु पुर्व श्रीमानलाइ फोन गरेर भनेका थिए, ‘बाबुको ड्याडी, हामीलाई खोलाले बगायो, हामीलाई बचाउन आउनुहोस्।

गएको असार २८ गते दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले एक महिनाभित्र सिस्ने खोलाको पुल बनाउन निर्माण व्यवसायीले गरेको प्रतिबद्धतालाई आफ्नो फेसबुकमा पोस्ट गरे । घोराही–लमही सडकखण्डअन्तर्गत पर्ने उक्त खोलामा पुल निर्माण गरिरहेको एडभेन्चर/जेभीका प्रतिनिधि यज्ञ केसीसहितको पुलको फोटो हालेपछि समयमै पुल बन्ने कुरामा आशावादी बने ।

किनकि त्यो पुलले निकै सास्ती दिएको थियो । कुरुम्बाङले उदाहरणीय कार्य गरेको भन्दै यो पुल एक महिनाभित्रै बन्नेमा सबै निर्धक्क थिए । तर, दुई महिना पुग्नै लाग्दा पनि पुल निर्माणको काम एकरति पनि अघि बढेन । फलस्वरूप बुधबार राति निकै दुःखद घटना भयो । त्यतिवेला प्रशंसा गरेका निर्माण व्यवसायी केसीलाई दण्डित गर्नुपर्ने अवस्था आयो ।

बुधबार बेलुका १० बजेतिर खोलाले कार बगाउँदा चार महिलाको मृत्यु भयो । तिजका सामग्री किनमेल गर्ने भनी चालकसहित पाँचजना कार रिजर्भ गरेर भारतको रुपैडिहा गएका थिए । सामान किन्दा–किन्दा रुपैडिहाबाट फर्किने क्रममा रात परिसकेको थियो । राति १० बजे सिस्नेखोला पुगे । महिलाहरूको महान् पर्वका रूपमा लिइने तिज मनाउन सामान ल्याएर फर्किँदै थिए । तर, उनीहरूको तिज मनाउने सपना चकनाचुर पार्‍याे ‘सिस्नेखोलाले ।’

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार त्यो दिन खोला ठूलो आएको थियो । ठूला सवारीसाधनहरू आवतजावत गर्न सक्ने भए पनि साना सवारीसाधनहरू आवतजावत गर्न सक्ने अनस्था थिएन । अन्ततः कार पनि बग्यो । चालक हाम फालेर बाँच्न सफल भए । तर, अन्य चार महिलाको मृत्यु भयो । मृत्यु हुनेमा दुईजना एकै घरका हुन् ।

घोराही उपमहानगरपालिका– १३ निवासी ३२ वर्षीया सुशीला श्रेष्ठ र घोराही– १४ निवासी ३० वर्षीया राधा श्रेष्ठ दुई बहिनी हुन् । उनीहरू घोराही उपमहानगरपालिका– १६ का वडा सदस्य जगत श्रेष्ठका छोरीहरू हुन् । उनका दुईजना मात्रै छोरी थिए । उनीहरू दुवैजनाको बिहे भइसकेको थियो । जेठी छोरी सुशीलाका सन्तान छैनन्, तर कान्छी छोरी राधाको १२ वर्षको एउटा छोरा रहेको वडा सदस्य खिमा घर्तीले जानकारी दिइन् ।

दाङको घोराही उपमहानगरपालिका १४ का ३६ वर्षीय रमेश कुँवर बुधबार साथीभाइसँग पार्टीमा रमाइरहेका थिए। डिलक्स गाडी किन्न चार लाख बैना गरेका उनलाई साथीभाइले खुसियाली मनाउन भनेपछि चोककै एक गेष्ट हाउसमा जमघट कार्यक्रम राखेका थिए।

उनीहरू रमाइरहेकै थिए। त्यही बीचमा नेपालगन्जबाट घर आउँदै गरेकी पत्नी राधाले फोन गरिन्। ‘बुढो तपाईंले गाडी ल्याउनुभयो कि नाइँ?’ रमेशले जवाफ दिए, ‘गाडी ल्याइसकेँ।’ त्यसपछि राधाले भनिन्, ‘हामी आउँदैछौं, त्यसो भए तपाईं घर गएर खाना बनाउँदै गर्नुहोला।’

त्यसपछि रमेश त्यहाँको खाजा नास्ताको बिल तिरेर घरतिर लागे। पत्नी राधाकै आग्रहमा रमेशले मिठो-मसिनो खानेकुरा तयार पारे। रात छिप्पिँदै गएपछि रमेशले छोरालाई खाना खुवाए। १३ वर्षे अंकित घोराहीकै जनज्योति बोर्डिङमा कक्षा ७ मा पढ्दैछन्।

रातको ९:३५ बजे राधाले फेरि रमेशलाई फोन गरिन्। ‘लौ, बाबुको ड्याडी, अब हामी कुइरेपानी आइपुग्यौं, केही बेरमै घर आइपुग्छौं है।’ त्यसको दस मिनेटपछि आत्तिँदै राधाले रमेशलाई फेरि फोन गरिन्।

बाबुको ड्याडी, हामीलाई खोलाले बगायो, हामीलाई बचाउन आउनुहोस्।’ त्यही बीचमा राधाकी दिदीले भनिन्, ‘ज्वाइँ हामीलाई खोलाले बगायो, तर तपाईं नआत्तिनुहोला।’ त्यसपछि फोन सम्पर्क हुन सकेन। रमेशलाई के गरौं, कसो गरौं भयो। तत्कालै उनले अघिसँगै बसेका साथीहरूलाई फोन गरे। उनीहरू अझै होटेलमै रहेछन्। रमेशले भने, ‘तिमीहरूको भाउजू राधालाई खोलाले बगायो रे, तुरून्त सिस्ने खोलामा पुगिहाल।’

गाडी लिएर उनीहरू तीव्र गतिमा घोराहीदेखि करिब साढे ३ किलोमिटर टाढाको सिस्ने खोला पुगे। रमेश मोटरसाइकलमा एक्लै घटनास्थलतर्फ लागे। चोकमा ड्युटीमा बसेका प्रहरीलाई घटनाबारे जानकारी दिए। ९ मिनेटपछि उनी पनि घटनास्थल पुगे।

खोलामा भेल आएको थियो। पस्न सक्ने अवस्थै थिएन। पहिलै त्यहाँ पुगिसकेका साथीहरू यताउता गरिरहेका थिए। तर पनि खोलामै पसेर भेलमा खोज्न थाले। निकै बेरसम्म खोजे पनि सुशीला र राधाका दिदीबहिनी फेला परेनन्। रात छिप्पिसकेको थियो। सबैले सम्झाइ-बुझाइ गरट्ठ रमेशलाई मध्यरात पछि घर ल्याए।

चालक पुनकी श्रीमती पनि उक्त कारमा नेपालगन्ज सामान किनमेल गर्न जान भनेर आएकी थिइन्। ‘मैले यति सानो कारमा पाँच जना अटाइन्न कि, स्कार्पियो लग्नुपर्‍यो, नत्र यसमा हुँदैन भनेपछि चालककी श्रीमती त्यहीँबाट घर फर्किनुभएको हो,’ रमेशले घटना विवरण सुनाउँदै भने।

राधालाई रमेशले किनमेलका लागि भनेर १७ हजार रूपैयाँ दिएका थिए। ‘आफ्नो लागि साडी, आमालाई धोती, जिरा, दाल र एउटा प्रेसर कुकर पनि किनेर ल्याउने भन्दै राधा नेपालगन्ज गएकी थिइन्,’ रोदनमिश्रित स्वरमा रमेशले भने, ‘यस्तो होला भन्ने कहिलै कल्पना पनि गरेको थिएन। दैवको लिला देखेर पनि उदेक लागेर आउँछ।’

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत राप्ती सोनारी गाउँपालिकाको अगैया भन्ने ठाउँमा चालकसहित सबैले खाजा नास्ता खाएका थिए। त्यहाँ राप्तीको माछा प्रख्यात छ। ‘राधाले मेरा लागि अगैयाबाट माछासमेत ल्याइदिएको फोनमा भनेकी थिइन्,’ रमेशले रूँदै भने, ‘सायद उसको यतिसम्म मात्र लेखेको रहेछ।’

रमेशको पुर्ख्यौली घर घोराही १६ सर्रामा पर्छ। हालै उनले घोराही १४ बुद्धि ग्यारेज नजिक नयाँ घर बनाएका थिए। ‘हामी नयाँ घर बनाएपछि असार ९ गतेदेखि यहाँ बस्न थालेका हौं,’ रमेशले भने, ‘त्यसैले हामीले नयाँ ठाउँमा बसाइँसराइ समेत ल्याएका छैनौं।’ रमेशले आफू पाँच महिनाअगाडि मात्रै साउदी अरबबाट बिदामा घर फर्किएको बताए। ‘श्रीमतीको सल्लाहमा अब बिदेश नजाने भनेर गाडी किनेर ल्याएको थिएँ,’ रमेशले भने, ‘तर ममाथि दैव लाग्यो। यो सबै तक्दिरको खेल त होला नि।’

कम्पनी प्रतिनिधिलाई पक्राउ गर्न निर्देशन
दाङको लमही–घोराही सडकखण्डअन्तर्गत सिस्नेखोलाले कार बगाएर चारजनाको मृत्यु भएपछि सोही खोलामा पुल निर्माण गरिरहेका निर्माण कम्पनीका प्रतिनिधिलाई दाङका प्रमुख जिल्ला अधिकारीले तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । प्रजिअ रामबहादुर कुरुम्बाङले बाँके प्रहरीलाई पत्र लेख्दै तत्काल पक्राउ गर्न निर्देशन दिएका हुन् ।

पुल निर्माणको काम ढिला हुँदा अकालमा ज्यान गुमाउनुपरेको भन्दै सोही खोलामा पुल निर्माण गरिरहेको एडभेन्चर/जेभीका प्रतिनिधि यज्ञ केसीलाई तत्काल पक्राउ गरेर प्रशासनमा उपस्थित गराउन निर्देशन दिएका हुन् । पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि कुनै चासो नदिएको प्रजिअ कुरुम्बाङले बताए ।

गएको असार २८ गते कम्पनीका प्रतिनिधि केसीले एक महिनाभित्र काम सक्ने भनी प्रतिबद्धता जनाएको भनी प्रजिअ कुरुम्बाङले आफ्नो फेसबुकमा अपलोड गरेका थिए । तर, दुई महिना बित्न लाग्दा पनि काम पूरा हुन सकेन । काम नै अघि बढ्न सकेको छैन । सिस्नेखोला र पत्रेखोलामा निर्धारित समयमै पुल निर्माण नहुँदा यात्रुहरूलाई सास्ती हुने गरेको छ । वर्षातको समयमा आवतजावतमा समस्या हुने गरेको छ । त्यस्तै, घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत हापुरखोला र सेवारखोलामा पुल निर्माणको कुनै सुरसार छैन । यी खोलाहरूमा पनि वर्षातमा सवारी आवतजावतमा निकै समस्या हुने गर्छ । ईब्राईट डटकम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय