शनिबार २४ मंसिर २०७९

बालेन्द्र साह (बालेन) को नेतृत्व पाएपछि काठमाडौं महानगरपालिका एक्सनमा उत्रिएको छ । बालेनले ठूला करदातालाई करको दायरामा ल्याउने अभियान सुरु गरेका छन्।

बुधबार फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिएर कर असुल गरेपछि अन्य ठूला करदातालाई पनि करको दायरामा ल्याउने गरी अभियान सञ्चालन गर्न लागेको हो ।

महानगरको राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार गत वर्षदेखि नै यो अभियान सुरु भएको थियो । यो अभियानलाई अब फेरि सुरु गर्न लागेको उनको भनाइ छ । अधिकारीले भने, ‘नेतृत्वले पहल गर्ने हो भने ठूला करदातालाई करको दा’यरामा ल्याउन गाह्रो छैन ।’

महानगरको टोली कर नतिर्ने करदाताकहाँ १६ देखि २५ साउन ०७८ सम्म पञ्चेबाजासहित कर तिर्न आग्रह गर्दै पुगेको थियो ।

घरजग्गा र सम्पत्ति कर तिर्न अटेर गरेपछि घर–आँगनमै पुगेर पन्चेबाजासहित व्यंग्य, नाच गरेको महानगरको भनाइ छ । केही करदाताले लाजैका कारण कर तिरेका छन् । जसकारण महानगरले अघिल्लो वर्षभन्दा २० करोड बढी कर संकलन गरेको थियो ।

कर नबुझाउनेमा धेरैजसो अर्धसरकारी संस्था

महानगरलाई कर नबुझाउनेमध्ये धेरैजसो अर्धसरकारी संस्था छन् । त्यसमध्ये विद्युत् प्राधिकरणले करिब १५ करोड कर तिरेको छैन । प्राधिरकणलाई पटक–पटक ताकेता गर्दा पनि कर नतिरेपछि महानगरले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकै नाममा पत्र काटेको छ ।

‘कर नतिर्ने धेरै संस्थानहरू छन् । त्यसमध्ये सबैभन्दा धेरै प्राधिकरणले तिर्न बाँकी छ,’ प्रमुख डा। अधिकारीले भने, ‘पटक–पटक ताकेता गर्दा पनि कर तिर्न नआएपछि हामीले कार्यकारी निर्देशक घिसिङकै नाममा समेत पत्र काटेका छौँ । उहाँहरूले छिट्टै तिर्ने भन्नुभएको छ ।’

फनपार्कले बुझायो १७ लाख ३६ हजार कर
फनपार्कले महानगरलाई मनोरञ्जन कर १७ लाख बुझाएको छ । बिहीबार महानगरअन्तर्गत राजस्व विभागमा गएर १७ लाख ३६ हजार मनोरञ्जन कर बुझाएको महानगरले जनाएको छ ।


Last Updated on: September 3rd, 2022 at 11:23 am
३८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया