शुक्रबार , अषोज ८, २०७८

संसारकै ठूलो रकेट इन्जिनियरिङ प्रतिस्पर्धामा नेपाली रकेट गरुडले जित्यो अनरेवल अवार्ड

काठमाडौं : संसारकै ठूलो रकेट इन्जिनियरिङ प्रतिस्पर्धा ‘भर्चुअल स्पेसपोर्ट अमेरिका कप २०२१’ ले विजेता घोषणा गरेको छ । उक्त प्रतिस्पर्धामा इन्जिनियरिङ विधार्थीको समूहले बनाएको नेपालको पहिलो ‘गरुड रकेट’ले अनरेवल अवार्ड जितेको छ । जुन १८ देखि २१ सम्म भर्चुअल माध्यमबाट सो प्रतिस्पर्धा आयोजना गरिएको थियो । हरेक वर्ष न्यू मेक्सिकोमा आयोजना हुने उक्त प्रतिस्पर्धा कोभिड महामारीका कारण अनलाइनमार्फत आयोजना गरिएको थियो ।

संसारका विभिन्न १६ मुलुकबाट ७५ टिमले उक्त प्रतिस्पर्धामा भाग लिएका थिए । उक्त प्रति’स्पर्धामा गरुड रकेटले अनरेवल अवार्डको रुपमा ‘न्यान्सी स्क्वायर्स टिम स्पिरिट अवार्ड’ जितेको हो । आफू हरुको मेहेनतको आधारमा उक्त अनरेवल अवार्ड जित्न सफल भएको गरुड रकेट प्रोजेक्टका टिम लिडर ई. मोहन तामाङले इन्जिनियर्स पोष्टलाई बताए। ‘हामीले सुरुवाती चरण देखि गरेको मेहेनत र त्यहाँसम्म पुग्दा सम्मको संघर्षको आधारमा अनरेवल अवार्ड पाएका हौँ’ उनले भने, ‘टेक्निकल रिपोर्ट, काम गरेको तरिका, रकेटको भिडियो पठाएका थियौँ । ३ दिनको अवधिमा प्रिजेन्टेसन पनि दिएका थियौँ । सोही आधारमा हामीले यो अवार्ड जितेका हौँ ।’

लक डाउनको समयमा रकेटका लागि चाहिने उपकरण तथा अन्य सामग्री जुटाउन चुनौती पूर्ण भए पनी आफूहरुको सक्दो प्रयोसले उक्त प्रतिस्पर्धामा सहभागी हुने अवसर जुटेको ई. तामाङले बताए । ‘विभिन्न चुनौति भोगेर भए पनि हामीले आफ्नो तर्फबाट निकै प्रयास गरेका थियौँ र अहिले उक्त प्रतिस्पर्धामा सहभागी हुन पायौँ’ उनले भने । रकेट एवम् स्पेस दुनियामा स्पेसपोर्ट अमेरिका कप संसारकै सबैभन्दा राम्रो प्लेटफर्म मानिन्छ ।

संसारभरका विभिन्न टिमहरु, दक्ष एवम् अनुभवी व्यक्तिहरु सहभागी हुने उक्त प्रतिस्पर्धा नेटवर्किङ एवम् विभिन्न अवसरका लागि महत्वपूर्ण मानिन्छ । ‘संसारको ठूल्ठुलो स्पेस कम्पनीका प्रतिनिधिहरुसँग भेट्ने मौका यस कार्यक्रमले दिएको छ’ इन्जिनियर्स पोस्टसँग उनले भने, ‘उहाँहरुसँग भेट्न पाउँदा र प्रतिस्पर्धामा सहभागी हुँदा आगामी दिनमा हामीले संसारका ठूला–साना स्पेस कम्पनीमा आफ्नो क्षमता देखाउने अवसर मिल्छ। सिक्नका निम्ती फ्रि प्याकेजको अवसर मिल्छ । विश्वसामू नेपाललाई चिनाउन पाइन्छ । समग्रमा यो ट्यालेन्ट हन्ट खालको कार्यक्रम हो । जहाँ आफ्नो सञ्जाल फैलाउन र विभिन्न अवसर पाइने सम्भावना हुन्छ ।’

आगामी वर्षहरुमा हुने अन्तर्राष्ट्रिय रकेट प्रतिस्पर्धामा सहभागी हुन परिमार्जित ढंगले तयारी गरिरहेको पनि उनले जानकारी दिए। ‘आगामी वर्षका लागि पनि हामीले सिट रिजर्भ गरिसकेका छौँ’ उनले भने ‘उक्त प्रतिस्पर्धामा हामीे प्रत्यक्षरुपमा सहभागी भएर आफ्नो क्षमता देखाउन पाउने छौँ । पहिलो, दोस्रो अथवा तेस्रो विजेता हुने गरी तयारी थालेका छौँ ।’ यसअघि इतिहासमै पहिलो पटक नेपाली युवा इन्जिनियरिङका विद्यार्थीहरुको समूहले सो रकेट सिन्धुलीको भिमानमा प्रक्षेपण परीक्षण गरिएको थियो ।

रकेट र स्याटेलाइट प्रविधिमा नेपाल पनि पछि छैन भन्ने सन्देश दिनका लागि नेपाली युवाहरुको समूहले रकेट प्रक्षेपण परीक्षण गरेको हो । जसमा नेपाली सेनाले साथ दिएको थियो । प्रक्षेपण परीक्षण समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापा उपस्थित भएका थिए ।रकेट करिब डेढ सय मिटर आकाशमा उडेको थियो । त्यसपछि हावाका कारण रकेट दुर्घटना हुन पुगेको थियो । यो रकेट १० हजार फिट एलजीएलको उचाइमा पुग्ने अनुमान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय