शुक्रबार , अषोज ८, २०७८

नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गरेकी हुन् । यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

बुधबार टेलिफोन कुराकानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।

बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट भएको कुराकानीमा राष्ट्रपति भण्डारीले कोभिड-१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु नेपाल सरकारको पहिलो दायित्व रहेको भन्दै आवश्यक खोप चीनबा ६ खरिद गर्न इच्छुक रहेको बताएकी थिइन् । उनले यस प्रक्रियामा सहजीकरण गरिदिन राष्ट्रपति सीलाई आग्रह गरेकी थिइन् ।

जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रहेकाले नेपालले मागेको सहयोगबारे आफ्ना सरकारी अधिकारीहरुसँग बुझ्ने बताएका राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । ‘यहाँको अनुरोधलाई मैले मनन गरेको छु, हामी नेपाललाई सहयोग गर्न सधैं तत्पर छौं’ कुराकानीमा क्रममा राष्ट्रपति सीले भनेका थिए ।

कोरोना महामारीसँग जुध्न सरकारले कहाँबाट कति ऋण तथा सहयोग प्राप्त गर्यो ?

देशको स्वास्थ्य पूर्वाधार तथा जनशक्तिले धान्न नसक्ने गरी कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । परिणामस्वरुप संघीय सरकारले कोरोना महामारीसँग जुध्नका लागि विभिन्न दातृ निकायसँग सहयोगको आह्वान गरिरहेको छ ।

सरकारको आह्वानअनुसार विभिन्न देशले स्वास्थ्य उपकरण तथा आर्थिक सहयोग गरेका छन् । केही मुलुक तथा दातृ निकायले महामारीसँग जुध्नका लागि नेपाललाई ऋण सहायता उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारको आह्वानमा विभिन्न मुलुकले स्वास्थ्य सामग्री तथा उपकरणहरु सहयोगस्वरुप उपलब्ध गराएका छन् । चीन, स्पेन, स्वीट्जरल्याण्ड, अमेरिका, बंगलादेश लगायतबाट स्वास्थ्य सामग्री तथा उपकरणहरु सहयोग स्वरूप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चीन सरकारले २ हजार थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ भने तिब्बत सरकारबाट १ सय ५० थान लिक्विड अक्सिजन ट्यांक सहयोगस्वरुप प्राप्त भएको छ । यस्तै, स्पेन सरकारबाट १५ भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर र १ लाख २४ हजार एन्टिजेन किट लगायतका सामग्री सहयोगस्वरुप सरकारले प्राप्त गरेको छ ।

स्वीटजरल्याण्डबाट ११ लाख एन्टिजेन किट, ४० भेन्टिलेटर र १० अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री प्राप्त भएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार बंगलादेशबाट १० हजार रेम्डिसिभिर औषधि, सिंगापुरबाट २० भेन्टिलेटर, १ लाख २४ हजार पीसीआर किट लगायतका सामग्री प्राप्त भएको छ ।

यसैगरी, अमेरिकाबाट ५ लाख एन्टिजेन, पीपीई लगायतका स्वास्थ्य सामग्री प्राप्त भएको मन्त्रालयले जनाएको छ । अमेरिकाबाट थप स्वास्थ्य सामग्री तथा उपकरण आउने क्रममा रहेको मन्त्रालयको भनाइ छ ।

स्वीटजरल्याण्डबाट ९७ करोड, अमेरिकाबाट ४३ करोड, सिंगापुरस्थित सामाजिक संस्थाबाट २३ करोड, स्पेनबाट १२ करोड, चीन सरकारबाट ७ करोड, बंगलादेशबाट ४ करोड र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न संस्थाबाट जम्मा १३ करोड गरी करिब २ अर्ब रकम बराबरको स्वास्थ्य उपकरण तथा सामग्री सहयोग प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

आर्थिक सहायता कहाँबाट कति ?

कोभिड—१९ महामारी व्यवस्थापनका लागि हालसम्म आर्थिक सहायता अन्तर्गत जर्मन सरकारको ‘केएफडब्ल्यु’ मार्फत १ अर्ब ४२ करोड, एशियाली विकास बैंकबाट ३६ करोड तथा विश्व बैंकबाट करिब २४ करोड सहायता रकम प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ । जापान सरकारले ३ अर्ब २० करोड उपलब्ध गराउने मन्त्रालयको भनाइ छ ।

योसँगै जम्मा ५ अर्ब २२ करोड सहायता रकम नेपालले प्राप्त गरेको छ । नेपालमा कोरोनाभाइरसको दोस्रो लहर घातक बन्दै गएपछि महामारीसँग जुध्नका लागि भन्दै सरकारले विभिन्न दातृनिकाय तथा बैंकहरुसँग ऋण सहायता समेत लिएको छ ।

ऋण सहायता अन्तर्गत कोभिड—१९ को प्रतिकार्यका लागि विश्व बैंकबाट ३ अर्ब ४८ करोड सहायता प्राप्त गर्ने क्रममा रहेको र कोभिड—१९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै कोभिड—१९ खोप व्यवस्थापनका लागि एशियाली विकास बैंकबाट पनि १९ अर्ब ८० करोड ऋण सहायता लिने विषयमा छलफल भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । महामारीसँग जुध्नका लागि हालसम्म जम्मा ३२ अर्ब २८ करोड ऋण सहायता परिचालन भएको उनको भनाइ छ । संचारकेन्द्र डटकम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय