शुक्रबार , अषोज ८, २०७८

बेइजिङ उडानको लागि तयारीमा..विजय लामा, आज चीनबाट ९ लाख खोप ल्याइँदै (सेयर गरौ)

काठमाडौं । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चीन सरकारद्वारा अनुदान प्राप्त खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ । सो विमानले आज मंगलबार २ बजेसम्म ८ लाख खोप नेपाल ल्याइपु–याउनेछ ।

त्यस्तै, चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको झन्डै १ लाख डोज खोप हिमालयन एयरलाइन्सको दुई चार्टर्ड विमानमार्फत क्रमशः मंगलबार १ लाख र बुधबार १ लाख ल्याइने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार तीन खेपमा चीनबाट भेरोसिल खोप नेपाल ल्याइने तयारी भएको हो । जसको प्राथमिकतामा ज्येष्ठ नागरिक परेका छन् ।

कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड तत्काल उपलब्ध गराउन नसकिने सरकारले जानकारी गराएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड अपडेटमा बोल्दै मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुने सम्भावना नरहेको बताए ।

फागुन २३ गतेपछि कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख व्यक्तिले तत्काल दोस्रो डोज लगाउने मिति नजिकिए पनि नपाउने भएका हुन् । विश्व स्वास्थ्य संगठनले खोपको पहिलो मात्रा लगाएको ९ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्ने बताएको छ ।

तर विभिन्न प्रयास गर्दासमेत उपलब्ध हुन नसक्ने डा पोखरेलले बताए । ‘पहिलो डोज लगाएको अब करिब ११ हप्ता बितिसकेको छ,’ उनले भने, ‘फागुन २३ भन्दा पछि खोप प्राप्त गर्नुहुने ज्येष्ठ नागरिक तथा अन्य नागरिकले खोप लगाउने मिति नजिकै आउँदा पनि तत्कालै कोभिसिल्ड खोपको दोस्रो मात्रा उपलब्ध हुने सम्भावना नदेखिएको अवस्था छ ।’ कान्तिपुर दैनिकमा छापिएको छ ।

स्वास्थ्य मन्त्रालयले खोपका लागि कूटनीतिक पहल गरेको र खरिदका लागि कम्पनीहरुसँग सम्पर्क गरिरहेको बताउँदै पोखरेलले कोभिसिल्ड खोपको विकल्पमा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका र कोभ्याक्सबाट उपलब्ध हुने अन्य खोप प्राप्त गर्ने विषयमा दाताहरुसँग छलफल गरेको जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय