बिहिबार , भाद्र ३१, २०७८

टिकट काटेर नेपाल उड्न ठिक्क परेका कामदार अलपत्र पर्न थाले, तत्काल स्वदेश फर्काउन दबाब

काठमाडौं : नेपाल सरकारले उद्धार उडानको व्यवस्था नगर्दा वैदेशिक रोजगारबाट स्वदेश फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली कामदारहरुको दैनिकी कष्टकर हुँदै गएको छ । सरकारले अन्तर्राष्ट्रिय उडन बन्द गरेपछि वैदेशिक रोजगारका क्रममा करार अवधि सकिएर स्वदेश फर्किनुपर्ने बाध्यतामा रहेकाहरु मर्कामा परेका हुन् । करार अवधि सकिएकाहरु कम्पनीले उपलब्ध गराएको होस्टेलमा आफ्ना सहकर्मीहरुसँग जेनतेन गुजारा गरेर बसे पनि खाने खर्च तथा संक्रमित भएमा उपचारको अधिकारबाट बञ्चित भएका छन् भने धेरैलाई अवैधानिक भएर बसेमा जरिबाना तिर्नुपर्ने डर बढेको छ ।

नेपालमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको महामारी फैलिएपछि सरकारले गत वैशाख २३ गते मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान रोकेको छ । त्यसयता अन्य प्रयोजनले विदेश गएकासहित वैदेशिक रोजगारमा गएका नेपालीहरु स्वदेश फर्किन पाएका छैनन् । नेपालमा संक्रमणको दर बढिरहेका कारण रोकिएको अन्तर्राष्ट्रिय उडान कहिले सुचारु होला भन्दै करार अवधि सकिएका नेपाली कामदारहरुले विदेशस्थित नेपाली दूतावासमा स्वदेश फर्किने व्यवस्थाको माग गर्दै दबाब बढाएका छन् । तर सरकारले स्वदेश फर्किनु पर्ने बाध्यतामा रहेका नेपालीलाई फिर्ता गर्न अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने वा चार्टर्ड फ्लाइटबाट ल्याउने भन्ने विषयमा बिहीबारसम्म कुनै निर्णय गरेको छैन ।

अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि करार अवधि समाप्त भई स्वदेश फर्किनुपर्ने कामदारहरुले आफुहरुको टिकटको अवधि समाप्त हुने भन्दै स्वदेश फर्किने प्रबन्ध गर्न दबाब दिइरहेका छन् । नेपालमा संक्रमण दैनिकरुपमा बढ्दै गएका कारण अन्तर्राष्ट्रिय उडान खुल्ने समयको टुंगो नभएपछि स्वदेश फर्किनु पर्ने कामदारहरु थप आत्तिएको बताइएको छ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली कुटनैतिक नियोगमार्फत अलपत्र कामदारहरको विवरण लिने काम भइरहेको तर उनीहरुलाई स्वदेश फर्काउने ठोस् निर्णय हुन बाँकी रहेको बताए । वस्तुस्थिति बुझ्ने भन्ने कार्यकारी निर्देशक श्रेष्ठको भनाइले अघिल्लो पटक जस्तै वैदेशिक रोजगारमा गएका कामदार भोकभोकै नभएसम्म नफर्काउने नीति अख्तियार गरेको बुझ्न कठिन छैन ।

अघिल्लो पटक सर्वोच्च अदालतको आदेशपछि मात्र सरकारले विदेशमा अलपत्र कामदारको उद्धार प्रक्रिया शुरु गरेको थियो । अन्तर्राष्ट्रिय उडान रोकिँदा वैदेशिक रोजगारीको नियमित करार अवधि सकिएका, कैद भुक्तान गरेका, आममाफी पाएका, अनभिलेखवद्ध कामदार, घरेलु कामदार, गर्भवती, रोजगारी र आम्दानी गुमाएका, सूचनामा पहुँच नभएका, भिजिट भिसा वा पर्यटक भिसामा गएका पर्यटक तथा पारिवारिक भिसामा गएकाहरू स्वदेश फर्किने बाध्यतामा छन् । अन्तर्राष्ट्रिय उडान रोकिएका कारण घर फर्किने अवस्था सहज नहुँदा उनीहरु लामो समयसम्म आर्थिक भार वहन गर्न नसक्ने अवस्थामा पुग्ने गरेका छन् । भिजिट भिसामा गएकाहरु आफु अनभिलेखवद्ध भएको हुँदा कोरोना संक्रमति भए उपचारसमेत नपाउने अवस्था छ ।

उडान रोकिनु अघि टिकट किनेका कामदारमाथि खर्चको ठुलो भार थपिएको छ । खाडीका देशमा पुरुष कामदारको तुलनामा महिलाहरु समस्यामा पर्ने आयोगले बताएको छ । ‘महिला आप्रवासी श्रमिकहरू त्यसमा पनि खास गरेर घरेलु काममा कार्यरत थप जोखिमा परेका छन् । गर्भवती र प्रसूतिको अवस्थामा यथेष्ट स्वास्थ्यसेवा र हेरचाह सहज तवरले पाउन नसक्दा र आर्थिक अभावका कारणले सोको खर्च धान्न नसक्दा उनीहरू थप समस्यामा पर्दछन्,’ आयोगले भनेको छ । मलेसियामा भने नयाँ कामदार नजाँदा करार अवधि सकिएर घर फर्किनु पर्ने कामदारको वर्क पर्मिट सकिएको एक वर्षभन्दा लामो सयमसम्म पनि एक्जिट पर्मिट नदिई जवरजस्ती काममा लगाउने गरिएको छ ।

अन्तर्राष्ट्रिय उडान सहज भएको अवस्थामा दैनिक ३ देखि ६ सयको हाराहारीमा नेपाली कामदार स्वदेश फर्किने गरेका थिए । अन्तर्राष्ट्रिय उडान रोकिँदा दैनिकरुपमा ६ सय नेपाली कामदार अलपत्र परिरहेका छन् । अन्तर्राष्ट्रिय उडान रोकिँदा रोजगारीका क्रममा ज्यान गुमाएका नेपाली कामदारको शव ल्याउनसमेत समस्या छ । मध्यान्ह डेली बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय