शनिबार , जेठ १४, २०७९

भाइरल भयो घोराहीमा शोभा चौधरीको सूर्यमुखी फूलबारी , चर्को घाममा भिडियो बनाउनेको लाईन ( हेर्नुहोस भिडियो सहित )

घोराही उपमहागरपालिका-८ स्थित स्यानी गाउँकी शोभा चौधरीको सूर्यमुखी फूलबारीमा टन्न मान्छेहरू थिए। वरिपरि खेतमा लहलह गहुँका बोटहरू बीचमा छ सूर्यमुखीको खेती। बुधबार दिउँसोको कुरा हो, चर्को घामको प्रवाह नगरी कसैले भिडिओ खिच्दै थिए, कसैले फोटो अनि सबभन्दा बढी त टिकटक बनाउन नाच्नेहरू! घोराहीको कपासेंबाट जिमकला घर्ती टिकटक बनाउनकै लागि यहाँ आएकी थिइन्। गृहिणी हुन्, यो सूर्यमुखी बारीमा अरूले बनाएका टिकटक देखेरै उनी आएकी हुन्।

यी सबै सामाजिक सञ्जालमा अरूहरूले राखेका फोटो, भिडिओ देखेर रहर पूरा गर्न आएका हुन्। सूर्यमुखी फूलको खेती भाइरल भएपछि दैनिक यहाँ सयौं मानिस फोटो खिच्न र भिडिओ बनाउन आउने गरेका छन्। मान्छे धेरै आउन थालेपछि सूर्यमुखी खेतीकी मालिक शोभा चौधरीले यहाँ आएर फोटो खिचेको शुल्क तोकेकी थिइन्। प्रतिव्यक्ति ५० रूपैयाँ शुल्क प्रवेश शुल्क लिने गरेको उनले बताइन्। सूर्यमुखीका कतिपय कोपिला (मुर्झाइ) सुकिसकेका छन् तै मानिसहरू यहाँ आउने र फोटो खिच्ने तथा भिडिओ बनाउन आइरहेकै छन्।

घोराही–१३ सेवारका आशिका उनकी बहिनी एलिना र अन्टी विपना बुढा पनि केहीपर भिडिओ बनाउन तल्लीन थिए। तुलसीपुर उपमहानगरपालिका- ८ अश्वाराका फोटो ग्राफर मिलन भण्डारी आफ्नो पेजमा राख्ने फोटो खिच्न भनेर पुगेका थिए। घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत घोराहीकी यसोदा डाँगीले १५ देखि २० वटासम्म टिकटकका लागि भिडिओ बनाएको बताइन्। उनका साथमा रोल्पा घर भई घोराहीमै बसेर ब्याचरल चौथौ वर्षको परीक्षा दिएकी चाँदनी परियार र प्युठानको जस्पुरकी खिमा दर्लामी पनि थिए।

फोटो खिच्न तथा टिकटक बनाउन आउनेहरू नाच्ने, दौडिने तथा टिपेर लैजाने हुँदा फूलहरूमा क्षति पुगेपछि आउनेहरूकै सल्लाहमा प्रवेश शुल्क तोकिएको शोभाले बताइन्। तारबाररहित खुला खेतबारी हुनु र मानिसहरूको थामिनस्कने भिड बढ्दै जान थालेपछि चौधरी परिवारलाई रातदिन ड्युटी गर्नु परेको छ। बुधबार बगैंचाभन्दा केहीमाथि लिलाबहादुर चौधरी भिड नियन्त्रण गर्न र प्रवेश शुल्क/अशुल्नका लागि लाठीसहित प्रहरीको जस्तै गरी बाटोमा पहरा दिइरहेका थिए। शोभा बगैंचा प्रवेश गर्ने ठाउँमा थिइन्। जहाँ उनले बोतलमा पानी र तयारी खानेकुरा पनि राखेकी थिइन्।

यतिसम्मकी साढे ७ कठ्ठा जति क्षेत्रफलको बारीमा लगाइएको त्यही सूर्यमुखीको फूलबारी हेर्न गत शनिबार मात्रै यहाँ तीन सय २० जना मानिस आएको रेकर्ड छ। त्यो दिन प्रतिव्यक्ति ५० को दरले प्रवेश शुल्क लिँदा १६ हजार रूपैयाँ एकैदिन संकलन भएको चौधरीले बताइन्। हप्ता दिन हुन थाल्यो हामीले प्रवेश शुल्क तोकेको,’ उनले भनिन् ‘आजको बाहेक ६ दिनमा ४३ हजार संकलन भइसकेको छ। त्यसको हिसाबले ६ दिनमा ८ सय ६० जना त्यहाँ पुगेको देखिन्छ।

गत वर्ष आसपासका अन्य किसानले थोरै भए पनि सूर्यमुखीको खेती गरेको देखेका चौधरी परिवारले कस्तो हुँदो रहेछ भनेर गत मंसिरमा मात्रै पहिलो पटक सूर्यमुखीको बिउ किनेर ल्याएका थिए। जिल्लाकै लमहीस्थित कृषि ज्ञान केन्द्रबाट प्रतिकेजी एक हजार मूल्यका दरले साढे तीन किलो बिउ किनेर रोपेको शोभाले बताइन्। अरूभन्दा फरक र नयाँ केही गर्न सके समयले आफैं चर्चामा पुर्याउँदो रहेछ,’ शोभाले भनिन्,‘अब आउने वर्ष यो जग्गामा बिजौरीबाट ल्याएर ड्रागन फ्रुटको बेर्ना लगाउने सोच बनाएका छौं।’

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय