शनिबार २४ मंसिर २०७९

कैलालीमा ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी १५ वर्षीया किशोरी बेपत्ता भएकी छन् । धनगढी उपमहानगरपालिका–१३ की ती किशोरी बेपत्ता भएकी हुन् ।

गएको सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै उनी घरबाट निस्किएकी थिइन् । उनी बोराडाडीस्थित त्रिभुवन माविको कक्षा–८ की विद्यार्थी हुन् । विद्यालय पोसाकमै घरबाट निस्किएकी थिइन् । कैलाली प्रहरी र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोली उनको खोजीका सक्रिय छ ।

ती किशोरी आफ्नो साथीसँग आइतबार साँझ एक शिक्षकलाई भेट्न उनको घर पुगेको बताइएको छ । विद्यालयबाट सरुवा भएका शिक्षकलाई भेट्न गए पनि उनी घरमा नभेटिएको खुलेको प्रहरी अधिकारीहरू बताउँछन् ।

आइतबार उनको झोला भाइलाई दिएर घर पठाएकी थिइन् । तर, झोला स्कुल बसमै छुटेको थियो ।सोमबार उनी अरू दिनभन्दा छिटो घरबाट निस्किएको खुलेको एक प्रहरी अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले भने, “उनले आफ्नी बहिनीलाई आफूले मन पराएको केटाले ४ बजेसम्म नभेटे आफू बेपत्ता हुन्छु भनेकी रहिछिन् । यसलाई सामान्य रूपमा लिइयो । त्यसपछि उनी सम्पर्कमा छैनन् ।”

प्रहरीले उनका साथीसहित शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ । उनले मोबाइल प्रयोग नगर्ने भएकाले अनुसन्धान जटिल बनेको अधिकारीहरू बताउँछन् ।

प्रहरीले उनले मन पराएको भनेको केटासँग पनि सोधपुछ गरेको छ । उनले किशोरीलाई ‘तिमी सानै छौ’ भनेर सम्झाएको बताएका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा कुकुरको समेत प्रयोग गरिएको र कुनै पनि ‘क्लु’ भेटाउन नसकेको डीएसपी जोशीले बताए ।

उनका अनुसार कञ्चनपुरको महेन्द्रनगरमा उनीजस्तै अनुहार प्रस्ट नभएको सीसीटीभी फुटेजमा देखिएको छ । त्यसमा एक केटा पनि देखिएका छन् । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । -बाह्रखरी


Last Updated on: September 8th, 2022 at 7:57 pm
७० पटक हेरिएको

तपाईको प्रतिक्रिया