शनिबार २४ मंसिर २०७९

कप्तान सन्दीप लामिछाने ५ भदौमा नेपाली राष्ट्रिय क्रिकेट टिमसँग नभएको कुरा बाहिर आएको छ । मंगलबार साँझ प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको उजुरीमा पीडितले भदौ ५ गते पिंगलास्थानको काठमाडौं होटल इनमा राखेर बलात्कार गरेको बयान दिएकी छन् ।

भदौ ६ गते नेपाली राष्ट्रिय क्रिकेट टिम पाँच खेलको टी–२० क्रिकेट सिरिज र एकदिवसीय अभ्यास खेल खेल्न जाँदै थियो । यही सिरिजका लागि भनेर क्यानले टिमलाई बन्द प्रशिक्षणमा राखेको थियो ।

सबै खेलाडीले भदौ ४ गतेसम्म अभ्यास गरेका थिए । तर, नेपाल क्रिकेट संघ (क्यान) ले एक दिनअघि भदौ ५ गते उपत्यकामा घर भएका खेलाडीलाई तयारीका लागि क्लोज क्याम्पबाट घर पठाएको थियो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘टिम केन्या जानुभन्दा एक दिनअघि उपत्यकामा भएका खेलाडीलाई आफ्नो तयारी गरेर आउनू भनेर घर पठाएका थियौँ ।’

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी रवीन्द्र धानुकका अनुसार ५ गते घटना भएको भन्दै १७ वर्षीया नाबालिकाले उजुरी दिएकी छन् । भदौ ६ गते केन्या भ्रमण गरेको नेपालले घरेलु टिमसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको थियो ।

सन्दीपको कप्तानीमा खेलेको नेपालले सिरिज ३–२ ले जितेको थियो । केन्याविरुद्धको एकदिवसीय अभ्यास सिरिजअगाडि नै उनी क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज उडेका थिए ।


Last Updated on: September 7th, 2022 at 7:13 pm
११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया