शनिबार २४ मंसिर २०७९

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ ।

मंगलबार साँझ प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध उजुरी परेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी रवीन्द्र धानुकले जानकारी दिए ।

हाल लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिजमा छन् । उनी ६ भदौमा वेष्ट इन्डिज गएका थिए । सन्दीपले नाबालिकालाई ५ भदौमा पिंगलास्थानको काठमाडौं होटल इनमा राखेर ती नाबालिकालाई बलात्कार गरेको उजुरी परेकाे प्रहरी स्रोतले शिलापत्रलाई जनाकारी दिए ।

५ गते दिउँसाे सन्दीपले ती नाबालिकालाई घुम्नका लागि नगरकाेट लगेका थिए । साँझ काठमाडाैं फर्केर उनीहरू हाेटल इनमा बास बसेकाे उजुरीमा उल्लेख रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

लामिछाने र ति नाबालिका एक महिनाअघि मात्रै सामाजिक सञ्जालबाट नजिकिएका थिए । उनीहरूबीच त्यसयता निरन्तर विभिन्न माध्यमबाट कुराकानी हुने गरेकाे नाबालिकाले प्रहरीलाई बयान दिएकी छिन् । प्रहरी उच्च स्रोतका अनुसार ति नाबालिकाकाे घर नुवाकोट हाे ।

‘नुवाकोट स्थायी घर भएकी नाबालिकासँग लामिछानेको सम्पर्क सामाजिक सञ्जालमार्फत नै भएको देखिन्छ । ५ भदौमा आफूमाथि बलात्कार भएको बयान नाबालिकाले दिएकी छन् । हामी थप सोधपुछ गदैर्छौं’, प्रहरी स्रोतले भन्याे, ‘ त्यसअघि पनि उनीहरूको भेट भएको देखिन्छ ।’ प्रहरीले सन्दीपले नाबालिकालाई नगरकाेट लगेकाेबारे पनि सीसीटीभी फुटेजमार्फत अध्ययन गरिरहेकाे छ ।

प्रहरीका अनुसार ती नाबालिका बानेश्वरको एक हाेस्टेलमा बसेर पढ्दै गरेको खुलेको छ । यद्पि प्रहरीले उनी कुन कलेजमा अध्ययनरत छिन् भन्ने कुरा गोप्य राखेको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भरत बोहराले लामिछानेको घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको बताए ।

‘नाबालिका बलात्कार गरेको उजुरी आएको छ । हामी थप कुरा प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिने तयारीमा छौँ’, बोहराले भने । नाबालिका १६/१७ वर्षको रहेको प्रहरीको भनाइ छ ।

वेष्ट इन्डिज जानुअघि सन्दीपको कप्तानीमा नेपालले केन्यासँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको थियो । केन्याविरुद्धको सिरिज नेपालले ३–२ ले जितेको थियो । सन्दीप भारतीय प्रिमियर लिग आइपीएल खेल्ने एक मात्रै नेपाली खेलाडी हुन् ।


Last Updated on: September 7th, 2022 at 2:05 pm
४२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया