शनिबार २४ मंसिर २०७९

युक्रेनको दक्षिणी सहर खेरसनमा रुसी अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै रुससँग सामेल हुने तथाकथित जनमत संग्रह स्थगित गरेका छन्।

रुसले नियुक्त गरेको खेरसन शहरको उपप्रमुख किरिल स्ट्रेमोसोभले भनेका छन्,‘सुरक्षा अवस्थाका कारण जनमत संग्रह रोकिएको हो।’

युक्रेनको खेरसन शहर यतिबेला रसी सेनाको नियन्त्रणमा छ। खेरसन आफ्नो नियन्त्रणमै भएका बेला रुसले त्यहाँ जनमत संग्रह गरेर सो क्षेत्रलाई रुसमा विलय गराउने योजना बनाएको छ।

यसबीचमा युक्रेनले सशक्त आक्रमण जारी राखेको छ। युक्रेनी गोलाबारीले खेरसनको मुख्य पुलमा अवरोध भएको उपप्रमुख स्ट्रेमोसोभले बताएका छन्।

रुसले खेरसनमा मात्र नभएर युक्रेनका धेरै क्षेत्रमा जनमत संग्रह गर्ने योजना बनाएको छ। जसको युक्रेन र उसका पश्चिमा सहयोगीले विरोध गरेका छन्। अर्काको भूमिमा आक्रमण गरेर जनमत संग्रह गराउनु र ती भूमिहरु रुसमा विलय गराउने कार्य गैरकानुनी भएको उनीहरुको भनाइ छ।

रुसले ७ महिनायता युक्रेनमा आक्रमण गरिरहेको छ। तर पश्चिमा राष्ट्रले हतियार सहयोग गरेपछि रुसलाई युक्रेनसँग लड्न गाह्रो भइरहेको अवस्था छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०१४ मा रुसद्वारा अतिक्रमित भूभाग क्राइमिया फिर्ता गरेपछि मात्र युद्ध समाप्त हुने बताइसकेका छन्।

यस क्रममा रुसी नियन्त्रणमा रहेका धेरै क्षेत्र युक्रेनले पुनः आफ्नो नियन्त्रणमा लिइरहेको बताइरहेको छ।

सोहीक्रममा युक्रेनी सेनाले मध्य खेरसनबाट करिब १६७ किलोमिटर उत्तरमा रहेको सानो सहर भाइसोकोपिल्या सहरलाई पुनः कब्जा गरेको दाबी गरेको छ। झण्डै ४ हजार बासिन्दा रहेको सहरमा युक्रेनी झण्डा फहराउँदै गरेको तस्बिर सार्वजनिक भएको छ।

पश्चिमा राष्ट्रका कारण युक्रेनसँगको लडाइ लम्बिँदै गएको रुसको आरोप छ। पश्चिमा राष्ट्रले युक्रेनलाई हतियार दिन बन्द गर्नुपर्ने क्रेमलिनको भनाइ छ।

तर अमेरिका लगायत पश्चिमा राष्ट्रले युक्रेलाई हतियार दिन छाडेको छैन। एजेन्सीको सहयोगमा


Last Updated on: September 7th, 2022 at 1:42 pm
१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया